तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय भद्रपुरको राजश्व सङ्कलन ४ अर्ब १६ करोड

भद्रपुर, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/०७९ मा चार अर्बभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले ४ अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिनुभयो । यो लक्ष्यको ९८ प्रतिशत हो । कार्यालयले ४ अर्ब २४ करोड ७४ लाख ६९ हजार राजश्व सङ्कलनको लक्ष्य पाएको थियो ।

कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदाता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ । भद्रपुर कार्यालयबाट ३ अर्ब ७ करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत ५२ करोड ८९ लाख ७० हजार गरी कुल ४ अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो ।

कार्यालयले आयकरबापत २ अर्ब ८७ करोड ३१ लाख ५८ हजार, बहाल करबापत ४ करोड २० लाख ४४ हजार, ब्याज करबापत ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत १ अर्ब ७० करोड ७ लाख १० हजार, अन्तःशुल्कबापत ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत ९७ हजार रुपैयाँ सङ्कलन गरेको छ । 

स्वास्थ्य सेवाबापत १० लाख ९० हजार ६९० रुपैयाँ राजश्व रुपैयाँ सङ्कलनको लक्ष्य पाए पनि कर सङ्कलन शून्य रहेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button