तपाईँ सुन्दै हुनुहुन्छः

मृतक तीन किशोरीका परिवारलाई आर्थिक सहयोग जुट्दै

भद्रपुर, झापा । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीको परिवारलाई आर्थिक सहयोग जुट्न थालेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको उनीहरूको परिवारजनलाई विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो ।

यसै क्रममा मृतकका परिवारलाई क्रिया खर्चमा समस्या देखिएको भन्दै काठमाडौँ महानगरपालिका ६ स्थित चुच्चेपाटी निवासी सुमन दाहालले ३० हजार रकम पठाउनुभएको छ । समाजसेवी दाहालले जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकसँग समन्वय गरी प्रति परिवार १० हजारको दरले रकम पठाउनुभएको हो । झापा उद्योग वाणिज्य संघका महासचिव पङ्कजकुमार शर्माले सहजीकरण गरी हिजो घरघरमै पुगेर मृतकका परिवारलाई सो रकम हस्तान्तरण गर्नुभएको छ ।

दाहालले मृतक परिवारको दयनीय आर्थिक अवस्थाको बारेमा सञ्चारमाध्यममा समाचार पढेपछि रकम पठाउनुभएको शर्माले जानकारी दिनुभयो । यसअघि, गाउँपालिकाले पनि आर्थिक तथा जिन्सी सहयोग गरेको थियो ।

गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–५ दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरवल गणेशकी १७ वर्षीया छोरी कल्पना कुमारी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनीहरू त्यही चिया बगानमा मजदूरी गर्थे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button