तपाईँ सुन्दै हुनुहुन्छः

इयूले उडान सुरक्षा सूचिमा राखिरहनु पर्ने अवस्था छैन: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचिमा राख्न नहुने धारणा राख्नुभएको छ ।

पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्यान्डका गैर आवासीय राजदूत आडम बुराकोव्स्कीले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने बताउनुभएको हो ।

आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरुबीच नेपाल र पोल्यान्डबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

मन्त्री श्रेष्ठले नेपाल र पोल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्नुहुँदै यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

पोल्यान्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्यान्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्ने बारेमा पनि उहाँहरुबीच छलफल भएको थियो ।

राजदूत बुराकोव्स्कीले सन १९९२ मा कन्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्यान्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ ।

भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्यान्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button