मन्त्री श्रेष्ठसँग पोल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैर आवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।
मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६३ वर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्नुहुँदै यसलाई अझ मझबुद बनाउनुपर्नेमा जोड दिनुभयो । पर्वतारोहणमा पोल्याण्डका जनताको रुचि रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको उहाँले बताउनुभयो ।
उहाँले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो ।
पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपालीहरू जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्ने बारेमा पनि उहाँहरुबीच छलफल भएको थियो ।
मन्त्री श्रेष्ठले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयुले सुरक्षा सम्बन्धी सुचीमा राख्न नहुने धारणा राख्नुभयो ।
आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा कम्पनीहरू सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
राजदूत बुराकोव्स्कीले सन् १९९२ मा कन्चनजंगा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो ।
रुटकिविज युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुन् भने केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् । भेटवार्तामा उहाँहरुबीच नेपालको पर्यटन प्रवर्द्धनका उपायहरूबारे छलफल भएको थियो ।
भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोक मान्य गोल्छाको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्