तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले  सङ्घीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताउनुभएको हो । 

अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ । मैले सङ्घीय संसद्मा विचाराधीन केही विधेयकलाई टुङ्गो लगाएर मात्रै घोषणा गरौँ भनेर आग्रह गरेको छु ।”  

उहाँले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिनुभयो । उहाँले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 

उहाँले आफूले पार्टीका नेताहरूलाई पनि गठबन्धनबाट दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताउनुभएको थियो । 

उहाँले परिवर्तनका सबै एजेण्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राख्नुभएको थियो ।

“माओवादी कमजोर हुँदा परिवर्तनका एजेन्डा समस्यामा पर्न थालेका छन् । देश, जनता र परिवर्तनको एजेन्डालाई मूर्त रूप प्रदान गर्न पनि माओवादीले जित्नै पर्छ”, उहाँले भन्नुभयो । 

उहाँले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताउनुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button