धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ । नेपाली धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
आज ललितपुरमा आयोजित कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्योगको सेयर कारोबारका लागि छुट्टै एसएमइज प्लेटफर्म निर्माण गर्ने उल्लेख छ ।
नीति तथा कार्यक्रमले बुक बिल्डिङ विधिको माध्यमबाट शेयरको निष्कासनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने जनाएको छ ।
बजेटमा उल्लेख भएका १ अर्ब वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने प्राकृतिक स्रोतको प्रयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यान्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।
नवप्रवर्तनका लागि पुँजी तथा व्यावसायिक ज्ञान परिचालन प्राइभेट गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरिवेक्षणमा ‘म्यानुअल’ लागू गर्ने नीति पनि बोर्डले लिएको छ ।
वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाइसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ ।
थप धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिने र दोस्रो बजार पूर्ण रूपमा विद्युतीय कारोबारमा आधारित बनाउने र नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रेडिङको विषयमा अध्ययन गर्ने योजना नीति तथा कार्यक्रममा ल्याइएको छ ।
बोर्डका कर्मचारीको मनोबल उच्च बनाउन कर्मचारीका लागि कर्मचारी सवारी सुविधा योजना तर्जुमा गरी लागू गर्ने, नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावलीलाई समयानुकूल बनाउने र बोर्ड पदाधिकारीहरूको आचारसंहितालाई पुनरावलोकन गरी सामयिक बनाइने पनि बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एसएमईज प्लेटफर्म निर्माणका लागि आवश्यक व्यवस्था मिलाएर साना तथा मझौला उद्योगलाई तथा तथा वास्तविक क्षेत्रका उद्योगहरूलाई पुँजी बजारमा भित्र्याउने उल्लेख गर्नु भयो ।
उद्यमशीलता तथा नव प्रवर्तनहरूलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई सञ्चालन अनुमति दिई सहजीकरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्