मयुरधाप औद्योगिक क्षेत्रको निर्माण छिटो सम्पन्न गर्न निर्देशन

मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मयुरधाप औद्योगिक क्षेत्रको काम छिटो सुरु गर्न निर्देशन दिनुभएको छ । बिहीबार औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री बडूले समयमै काम सम्पन्न गरेर उद्योग स्थापनाको वातावरण सृजना गर्न निर्देशन दिनुभयो ।
मन्त्री बडूले उद्योग स्थापना गर्न सरकार हरेक हिसाबले सहयोग गर्न तयार रहेको हुँदा औद्योगिक क्षेत्रको काम छिटो सम्पन्न गरेर उद्योग स्थापनाको वातावरण सृजना गर्न निर्देशन दिनुभयो । उद्योगको विकास र रोजगारी वृद्धिका लागि औद्योगिक क्षेत्रको काम छिटो सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो ।
सरकारले राष्ट्रिय उत्पादन बढाउनका लागि भएका उद्योगहरू सञ्चालन गर्ने र नयाँ उद्योग खोल्ने साथै नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने साथै नयाँ उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल सरकारले २०७२ चैत १ गते १९९ बिगाहा १७ कट्ठा सरकारी जग्गा मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा हस्तान्तरण गरेर औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको हो । हेटौँडा–१३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरेर २०७७ फागुन १४ गते शिलान्यास भएको उक्त औद्योगिक क्षेत्रमा दुई वर्षभित्र भौतिक पूर्वाधार विकासको निर्माण गर्ने र नयाँ–नयाँ उद्योगहरू स्थापना गर्ने लक्ष्य लिइएको थियो ।
तर, वन क्षेत्र परेकाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत नहुँदा पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन । औद्योगिक क्षेत्रमा हालसम्म प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) स्वीकृत भएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण, प्लट छुट्याउने, तथा तारबार गर्ने काम सम्पन्न भएको छ ।

बन्द भएका उद्योग सञ्चालनमा ल्याइने : मन्त्री बडू
यसैबीच मन्त्री बडूले बन्द भएका उद्योग कलकारखाना सञ्चालन गरिने बताउनु भएको छ । बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न बिहीबार हेटौँडा आइपुग्नु भएका मन्त्री बडूले हेटौँडाका उद्योगी व्यवासायीहरुसँगको छलफलको क्रममा सरकारी स्वामित्व रहेको उद्योगहरू छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो ।
स्थलगत रुपमा उद्योगको अवस्था र समस्या बुझ्न विभिन्न स्थानमा पुगेर अवस्था बुझेको भन्दै मन्त्री बडले भन्नुभयो, –“नेपालमा आयात बढ्दो छ अपेक्षा अनुरुप निर्यात नभएकाले पछिल्लो समय नेपालको अर्थतन्त्र ठिक छैन । केही वर्ष देखी अर्थतन्त्रमा समस्या छ, उत्पादन बढाउनु पर्नेछ, नीति निर्माण पछि पूर्ण क्षमताका उद्योगहरू पूर्ण क्षमतामै सञ्चालन गरिनुपर्ने छ ।” औद्योगिक क्षेत्र पूर्णरुपमा प्रयोग नभएको अवस्थामा नयाँ उद्योग सञ्चालन गर्न स्वदेशी उद्योगीलाई उहाँले आग्रह समेत गर्नुभयो ।
उद्योग सङ्घ मकवानपुरद्वारा मन्त्री बडूलाई ज्ञापनपत्र
यसैबीच हेटौँडा औद्योगिक क्षेत्रमा रहेको उद्योग सङ्घ मकवानपुरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूलाई ज्ञापनपत्र बुझाएको छ । उद्योग तथा कलकारखानाको अवस्था र समस्या बुझ्न देशका विभिन्न स्थान पुगेर हेटौँडा आइपुग्नु भएका मन्त्री बडुलाई हेटौँडा औद्योगिक क्षेत्रको अवस्था र उद्योगी व्यवसायीहरूको समस्या र अवस्थाबारे अवगत गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बुझाउनु भएको ज्ञापन पत्रमा उद्योगीहरूको असहमति अनुरुप २०७५ मङ्सिर ५ गते जग्गा भाडा वृद्धि गरिएको, मन्त्रालयबाट तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी निर्देशन दिई रोक्का गरिएको निर्णयलाई हाल आएर सोही मितिदेखि लागु हुने गरी कार्यान्वयनमा आउन लागेको प्रति आपत्ति जनाएको विषय उल्लेख रहेको छ । ज्ञापनपत्र मार्फत नाकाबन्दी, कोभिड र युक्रेन युद्ध जस्ताका कारण उद्योग क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै हाललाई उक्त निर्णय खारेज गर्न आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्