टेलिकमको सेवा गुणस्तरीय बनाउने गरी कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने गरी चालु आर्थिक वर्षको कार्ययोजना १५ दिनभित्र पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले टेलिकमका टावरहरू सरकारी निकायका भवनमा जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाइ कार्यान्वयनमा ल्याउन समेत सरकारलाई निर्देशन दिएको छ ।
यसैगरी समितिले विभिन्न निकायका विकास निर्माणका कामलाई सहज बनाउन तत्काल युटिलिटी करिडोर सम्बन्धी विधेयक पेश गर्न मन्त्रिपरिषद् कार्यालय एवम् सम्बन्धित मन्त्रालयलाई पुनः ध्यानाकर्षणसहित निर्देशन दिएको छ ।

समितिले बजेट अनुसार टेलिकमको टावर निर्माण नभएको, निर्माण भएका टावर समेत सञ्चालनमा नआएको र सेवाको गुणस्तर सन्तोषजनक नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउन समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूरसञ्चार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।
उहाँले दूरसञ्चार सेवा विस्तारका लागि कर्णाली प्रदेश र तराईका जिल्लाहरूलाई प्राथमिकतामा राखिएको समेत बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले नयाँ नीति तथा कार्यक्रम कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा नयाँ कार्यको प्रारम्भ भएको बताउँदै पर्यटकीय स्थल, धार्मिक स्थल, विद्यालय र अस्पतालहरूमा फ्रिबाइफाई विस्तार गर्ने चरणमा रहेको समेत जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले सेवा विस्तारसँगै गुणस्तर कायम राख्न समस्या देखिए पनि सुधारका लागि पर्यन्त भइरहेको जानकारी गराउनुभयो ।
उहाँले कुनै पनि सेवा कति समय सीमाभित्र सेवाग्राहीले प्राप्त गर्नसक्ने भन्ने विषयमा समय सीमा तोकेर जाने तयारी भइरहेको समेत स्पष्ट पार्नुभयो ।
नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठले टेलिकमको सेवा विस्तारसँगै गुणस्तरमा समेत सुधारका प्रयत्नहरू भइरहेको र ७ सय ४७ स्थानीय तहमा फोरजी सेवा पुर्याउने लक्ष्य अनुरुप ७ सय ३५ स्थानीय तहमा फोजी सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले नेपाल टेलिकमको सेवा दुर्गम क्षेत्र मात्र हैन सुगम र सहरी क्षेत्रहरूमा नै पनि सेवाको गुणस्तर नभएको धारणा राख्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्