तनहुँमा अझै आएन मल, धानको उत्पादन घट्ने

तनहुँ । तनहुँका किसानले यस पटक युरिया र डिएपी मल बिना नै धान रोप्न बाध्य भएका छन् ।
अवैध रुपमा व्यापारीले ल्याएका मल सीमित चर्को मूल्य तिरेर खरिद गरे पनि सरकारले समयमा मल खरिद गर्न नसक्दा किसान बिना मल रोपाई गर्न बाध्य भएका हुन् ।
जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाई सम्पन्न भएपनि लामो समय बर्षात नहुँदा टारी खेतहरूमा रोपाई हुन सकेको थिएन ।
मलको अभाव खेपिरहेका किसानले श्रावण पहिलो सातादेखि टारी खेतहरूमा रोपाई सुरु गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म तनहुँमा ८० प्रतिशत खेतमा रोपाई सकिएको छ ।
आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने खेतहरूमा अहिले रोपाई चलिरहेको केन्द्रले जनाएको छ ।
केन्द्रले प्राङगारिक मल प्रयोग गरेर रोपाई गर्न किसानलाई सुझाव दिएका थियो । जिल्लामा मलको आपूर्ति ठप्प भएपछि वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएको केन्द्रका प्रमुख तिवारीको भनाई छ ।
यता समयमा मल नपाएपछि कृषि उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
“अहिले अधिकांश हाइब्रिड बिउको प्रयोग हुन्छ ।” तिवारीले भन्नुभयो, “रासायनिक मलको आवश्यकता अनिवार्य हुन्छ तर अभाव छ ।”
मल नपाएपछि किसानले बाटो छेकेर मलको व्यवस्था गरिदिन आग्रह गर्ने गरेको उहाँले बताउनुभयो । “अहिले जताततै किसानले मल चाहियो भनेर बाटै छेक्न थाल्नु भएको छ ।” उहाँले भन्नुभयो ।
तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामाग्री संस्थान दमौलीले जनाएको छ ।
तनहुँ र लमजुङ जिल्लाका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन ।
अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्यधिक वृद्धि हुँदा किसानसम्म असर देखिएको प्रमुख शर्माले बताउनुभयो ।
मल आयातमा ठेकेदार प्रणाली तोडेर सरकारले जिटुजी सम्झौतालाई अघि बढाउन सके मात्र किसानले राहत पाउने उहाँको बुझाई छ ।
जिल्लामा एक हजार टन युरिया मल र छ सय टन डिएपी मल यो बेलामा खपत हुने गरेको संस्थानले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्