तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई सहज स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ ढंगले  पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३३औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई भौतिक पूर्वाधार तथा दक्ष चिकित्सकको उत्पादनमा जोड दिएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले मुलुकको स्वास्थ्य सेवा महँगो भई समयमा उपचार नपाई कष्टकर जीवन व्यतीत गर्नुपर्ने अवस्था आउन नदिनतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो । 

उहाँले  मुलुककै जेठो अस्पताल वीर अस्पतालले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउन गरेको प्रयासको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को महामारीमा वीर अस्पतालले सहज रुपमा स्वास्थ्य उपचार सेवा दिएकोप्रति धन्यवाद दिनुभयो । 

समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले वीर अस्पतालले आम नागरिकको विश्वास जित्ने गरी काम गरेको बताउनुभयो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.देवनारायण शाहले वीर अस्पताल सर्वसाधारणलाई सहजरुपमा सेवा दिन तत्पर रहेको बताउनुभयो । 

वार्षिकोत्सव समारोहमा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले अस्पतालको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । 

वार्षिकोत्सवका अवसरमा कोभिड–१९ महामारीमा खटेर उत्कृष्ट सेवा दिने स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button