केरा बीमाको रकम पाएपछि टीकापुरका किसान खुशी
कैलाली । कैलालीको टीकापुरका किसानहरूले पहिलो पटक केरा खेतीको बीमा भुक्तानी पाएका छन् ।
२०७९ जेठ २८ र असार २ गते आएको हावाहुरीले टीकापुरका किसानहरूको सयौँ बिघामा लगाइएको केरा खेती नोक्सान भएको थियो । बाली बिमामा पहिलो पटक बीमा भुक्तानी पाएपछि बीमा गरे क्षतिपूर्ति आउने रहेछ भन्ने आशा पलाएको किसानहरूले बताएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीमा बाली बीमा गरेका टीकापुरका छ कृषकले १९ लाख ४२ हजार ३६६ रुपियाँ भुक्तानी पाएका हुन् । शुभम एग्रो फार्मका सञ्चालक टेकेन्द्र धामीले केराको एउटा बोटको उत्पादन मूल्य ६०० हुन्छ तर प्रतिबोट १७६ रुपियाँ पाउँदा पनि कृषिमा सुरक्षाको महसुस भएको बताउनुभयो ।
सिद्धि विनायक केरा फार्मका सञ्चालक पार्वती जैसीले बीमाको रकम पाएपछि केरा खेती निरन्तर गर्ने आत्मबल बढेको बताउनुभयो ।
कैलाली केरा व्यवसायी संघका अध्यक्ष दीपेन्द्र थारुले यस अघि कतिपय बीमा कम्पनीले बीमा नै नगरिदिने र गरिहाले पनि बैङ्क प्रयोजनका लागि मात्रै भनेर भुक्तानी नपाइने अवस्था रहेको बताउँदै अहिले केरा कृषकलाई गरिएको बीमा भुक्तानी घाइतेलाई प्राथमिक उपचार जस्तै भएको बताउनुभयो ।
बीमा समितिका सुदूरपश्चिम कार्यालय प्रमुख ओमबहादुर अधिकारीले केही कम्पनीका कारण बीमा गर्यो दाबी पाइँदैन भन्ने गुनासा आइरहे पनि यस पटक सौहार्दपूर्वक र बीमा दाबीलाई कम्पनीले छोटो अवधिमै भुक्तानी दिएकाले यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।
बीमा रकम हस्तान्तरण गर्दै टीकापुर नगरपालिका १ का वडाध्यक्ष मोहन लुहारले हरेक वर्ष नोक्सान व्यहोर्दै आएका टीकापुरका किसानलाई छोटो अवधिमै बीमा भुक्तानी दिएकोमा किसान आकर्षित हुने बताउँदै शिखर इन्स्योरेन्सलाई टीकापुरमै शाखा खोल्न आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्