टुक्रे योजनाले पूर्वाधार विकासमा चुनौती

जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाले गत आवमा विकास बजेट लक्ष्य अनुसार खर्च सकेको छैन । सङ्घ सशर्त र प्रदेश समानीकरण बाट पूर्वाधार कार्यालयलाई प्राप्त कुल ५० करोड ३२ लाख ३२ हजार मध्य असार मसान्त सम्म २६ करोड ८ लाख ७० हजार अर्थात् ५१.८३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु तर्फ विनियोजित ११ करोड ६ लाख ६३ हजार मध्य ८ करोड ९ लाख अर्थात् ६८.७ प्रतिशत चालु खर्च भएको छ ।
जसमा पुँजीगत तर्फ विनियोजित कुल ४९ करोड १५ लाख ५९ हजार मध्य आवको अन्त्य सम्म जम्मा २५ करोड २८ लाख ६१ हजार अर्थात् ५१.४३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।
गत आवमा विकास बजेट लक्ष्य अनुसार खर्च नहुनुमा न्यून जनशक्ति, खरिद प्रक्रिया समयमै हुन नसक्नु, स्थानीयतहको निर्वाचन, समयै बजेट निकासा नहुनु, भौगोलिक विकटता, हिउँदमा काम गर्न नसक्नु लगायतका विभिन्न कारण मध्य मुख्य कारण भनेकै टुक्रे योजना हुन् ।

पूर्वाधार विकास कार्यालय कुल विनियोजित बजेट मध्य गत आवमा झण्डै २६ करोड बढी बजेट खर्च नभएर फिर्ता भएको छ । दर्जनौँ टुक्रे योजना, काम ठग्ने उपभोक्ता, न्यून जनशक्ति स्थानीयतहको निर्वाचन,लगायतका कारणले विनियोजित बजेट मध्य २६ करोड बजेट ८ लाख ७० हजार फिर्ता भएको हो ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि बहादुर ओलीले भन्नुभयो,“पूर्वाधार विकासको बाधक भनेकै टुक्रे योजना हुन् । हामी बहुवर्षिय योजनामा जोड दिइरहेका छौ । तर निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा टुक्रे योजनाले भौतिक प्रगति सन्तोषजनक भएन । उपभोक्तामा ६० प्रतिशत काम गरेरै बजेट खाने प्रवृत्ति हाबी भयो । देखिने परिणाममुखी काम गर्नका लागि टुक्रे योजना अन्त्य गर्नै पर्छ ।”
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १० देखि १५ लाखका झण्डै ३३ वटा योजना गत आवमा छुटाइएको थियो । जसको काम उपभोक्ताले लक्ष्य अनुसार गर्न सकेनन् । समयमै काम नगर्ने,बढीमा ६० प्रतिशत काम गरेरै खान खोज्ने प्रवृत्तिले न योजना बने नत लगानीको प्रतिफल देखियो ।
त्यसैले कर्णालीको पूर्वाधार विकासलाई गति दिन टुक्रे योजनाको अन्त्य नगरी नहुने प्रमुख ओलीको भनाई छ ।
बहुवर्षिय योजना निर्माणमा बढी फोकस भएको पूर्वाधार कार्यालयलाई कृषि,जलविद्युत साना बाटोका टुक्रे योजनाले समय मात्रै बर्बाद गरेको बुझिएको छ । प्रदेशले लगानी अनुसारको प्रतिफल खोज्न टुक्रे योजना अन्त्य र ठुला लगानीका बृहत् योजनामा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

३ वर्षमा १२८ किमी सडकको ट्रयाक ओपन
पूर्वाधार विकास कार्यालय जुम्लाले बितेको तीन वर्षमा झण्डै १ सय २८ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ । आव २०७६।७७ देखि ०७८।७९ को सम्मको तीन वर्षेको अवधिमा १ सय २८ किमी सडकको नयाँ खोलिएको देखिन्छ ।
जसमा गत आव २०७८।७९ मा पूर्वाधार विकास कार्यालयले १८ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । भने आव २०७६।७७ मा ६१ किमी, आव २०७७।७८ मा ४९ किमी गरी तीन वर्षमा जम्मा १ सय २८ किमी नयाँ सडक ट्रयाक खोलिएको पूर्वाधार कार्यालयका प्रमुख ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन वर्षमा २१ किमी सडक ग्राभेल गरिएको छ । जसमा गत आव २०७८/७९ मा मात्रै १० किमी सडक ग्राभेल भएको हो । भने बाँकी ११ किमी सडक विगतका वर्षमा ग्राभेल भएको थियो ।
साथै गत आवमा पूर्वाधार विकास कार्यालयले २ सय ५० जनालाई जनता आवासका घर निर्माण गरिएको छ । तीन वर्षमा ५ वटा झाेलुगे पुल निर्माण भएका छन् । भने, सडक पक्की अन्तर्गत तीन वर्षमा ४ वटा पुल सडक निर्माण भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा करिब ३३ योजनाहरू अझै निर्माण पूर्ण कार्यान्वयन भएका छैनन् ।
३ वटा बहुवर्षिय योजना बन्दै
पूर्वाधार कार्यालय मातहतका तीन वटा बहुवर्षिय आयोजना निर्माण गति लिएका छन् । टुक्रे योजनाले पूर्वाधार विकासमा बाधा पुगेपनि निरन्तरको पहल, सङ्घर्ष प्रयासले तीन वटा बहुवर्षिय योजना निर्माणले गति लिएको प्रमुख हरि बहादुर ओली बताउनुहुन्छ ।
उहाँका अनुसार जुम्ला एयरपोर्ट उर्थु, खाली न्याउरीघाट बुलबुले सडकको ८५.३० प्रतिशत काम सकिएको छ ।
जुम्ला दाँनसाघु चोत्रा काइगाउँ डोल्पा सडकको ३० प्रतिशत र जलजला गोठीज्युला, जलजला थालाचौर, गोठेलबाडा, बुडु कालाकाँडा, खत्याड जोड्ने बहुवर्षिय सडक निर्माणको भौतिक प्रगति पनि ३० प्रतिशत भएको ओलीले जानकारी दिनुभयो । भने भैसेडी पक्की पुलको पनि ठेक्का भई निर्माण भइरहेको छ ।
कनकासुन्दरीको रोकायाबाडामा रहेको २५ किलोवाटको माथिल्लो छाला जलविद्युत आयोजनाको निर्माण गरी विद्युत् समेत परिक्षण भइरहेको छ । मुख्य उपलब्धीका रुपमा तीन बहुवर्षिय योजनालाई लिइएको छ ।
बजेट खर्च बढाउने प्रयास
चालु आवमा पुँजीगत बजेट खर्चलाई बढाउने अधिकतम प्रयास गरिने पूर्वाधार कार्यालय प्रमुख हरि बहादुर ओलीको भनाई छ । चालु आवमा टुक्रे योजनालाई कार्यान्वयन नगर्न पहल गरिरहेको छु ।
उहाँले भन्नुभयो,“केही नयाँ ठुला योजना बनाउँदै छौ । बहुवर्षिय योजनालाई छिटो छरितो गरिने छ । उपलब्ध जनशक्ति नियमित खटेर पनि विकासमा गुणस्तर बजेट खर्च बढाउने लक्ष्य छ ।” यद्यपि, चालु आवमा पनि टुक्रे योजनाको सास्ती खेप्नु पर्ने चिन्ता पूर्वाधार कार्यालयको छ ।








प्रतिक्रिया राख्नुहोस्