सल्यानको चयालगाउँमा खानेपानीले ल्यायाे खुशी

सल्यान । घर घरमा खानेपानीको धारा आएपछि सल्यानको बागचौर नगरपालिका २ चयालगाउँका स्थानीय हर्षित भएका छन् । भएको एउटा कुवाबाट पानी ल्याउन बाध्य चयालगाउँका ५१ घरधुरी अहिले घरमै शुद्ध खानेपानी पाएपछि दङ्ग परेका छन् ।
वर्षाैदेखिको खानेपानीको पिरलो अहिले आएर हराएको स्थानीय विमला शर्माको भनाई छ । वर्षातको समयमा खासै समस्या नभएपनि हिउँद र सुख्खा सिजनमा खानेपानीको अभावका कारण कोही पाहुना नआए नि हुन्थ्यो भन्ने लाग्थ्यो । घरकै परिवार र बस्तुभाउलाई पु¥याउन धौ धौ हुन्थ्यो तर आजभोलि दैनिकी नै फेरिएको छ । अहिले घरमै पानी आउँछ बल्ल सुखको सास फेर्न पाएका छौँ ।
पानीको अभावकै कारण खानदेखि बस्तुभाउ र नुहाई धुवाइलाई खोलाकै भर पर्नुपर्ने स्थानीयको बाध्यताको अन्त्य भएको दिनेश नेपालीको भनाई छ । पानीका लागि लामो समय पालो कुरेर बस्नु पर्ने बाध्यता अहिले हटेको नेपालीले बताउनु भयो । उहाँले भन्नुभयो । घर घरमा पानीको धारा निर्माण भएपछि स्थानीयको मुहारमा खुशी छाएको छ ।
बस्ती भन्दा झण्डै एक किलोमिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट पानी तानेपछि चयालगाउँवासीलाई खानेपानी समस्या टरेको हो । बागचौर नगरपालिकाको ४० लाख र स्थानीयको जनश्रमदान ८ लाख गरी ४८ लाखको लागतमा चयालगाउँ लिफ्ट खानेपानी योजना सम्पन्न भएको योजनाका अध्यक्ष वसन्त शर्माले बताउनु भयो । पहिले लामो समय बोकेर पानी पिउन बाध्य स्थानीयहरू अहिले आफ्नै घरको आँगनमा पानी पाउँदा खुशी हुनुका साथै समयको समेत बचत भएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्