अछाम पहिरो घटनाको मुख्य कारण घरमाथिबाट खनिएको सडक

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोमा परी ज्यान गुमाएकाको पोष्टमार्टमका लागि जिल्ला शव जिल्ला अस्पताल लगिएको छ ।
आइतबार राति १२ बजेतिर वर्षासँगै आएको पहिरोमा परि स्थानीय अमर बिष्टको घर पहिरोले पुरिँदा ३ जनाको सुतेकै अवस्थामा ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।
मृतकहरू अमर बिष्टका भाउजु ४५ वर्षीया हरिकला बिष्ट, भाइ २५ वर्षीय वीरेन्द्र बिष्ट र भतिजा १५ वर्षका संविधान विष्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको हो ।
घटना स्थलबाट करिब ३ घण्टा बोकेर दैलेखको डुंगेश्वर लगेपछि गाडीमा राखेर जिल्ला अस्पताल लगिने तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनुभयो । घाइते ६५ वर्षीया नैना विष्टको स्थानीयले जीवितै उद्धार गरि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुल्लु लगिएको अध्यक्ष बिसीले बताउनु भयो ।
एकै परिवारका ३ जनाको ज्यान जाने गरि भएको घटनाले सिङ्गो गाउँपालिका स्तब्ध भएको भन्दै अध्यक्ष बिसीले तत्काल राहत र उद्धारका लागि सरोकारवाला निकायमा माग गर्नुभएको छ ।
घटनाको प्रमुख कारण घरमाथि खनिएको सडक
वर्षासँगै पहिरो आएर घर पुरिनुको प्रमुख कारण घरमाथि खनिएको सडक भएको पाइएको छ । यसै बर्ष तुर्माखाँद–भुलु सडक पुरिएको घरको करिब १०–१५ मिटर माथिबाट गएको थियो । सडकको किनारमा ठुलो चिउरीको बोट रहेको र पहिरोसँगै चिउरीको बोट आएर घर पुरिएको गाउँपालिका अध्यक्ष बिसीको भनाइ छ ।
जिल्लामा अधिकांश सडक वातावरणीय प्रभाव मूल्याङ्कन बिना जथाभाबी डोजरको प्रयोग गर्दै खनिने सडकले भू–क्षय, पहिरो, घर तथा बस्ती जोखिम निकै बढाइरहेको छ । हरेक पालिकामा वर्षेनि १ सय बढी सडक डोजरको प्रयोग गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन र योजना बिना नै खनिने गरेका छन् ।
घटनाप्रति सर्वत्र दुःख व्यक्त
पहिरोमा परी एकै परिवारका ३ जनाको ज्यान जाने गरि भएको घटना प्रति सर्वत्र दुःख व्यक्त गरिएको छ ।
सोमबार बिहानै गृहमन्त्री बालकृष्ण खाँडले टेलिफोन गरि घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारको काम तदारुकताका साथ गर्न निर्देशन दिनुभएको थियो । उहाँले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको स्वास्थलाभको कामना समेत गर्नुभयो ।
यस्तै घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पनि दुःख व्यक्त गर्नुभएको छ । शोक वक्तव्य जारी गर्दै मन्त्री कुँवरले मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले तत्काल उद्धार राहत व्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग समेत गर्नुभएको छ ।
साथै नेकपा एमाले अछामले शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । जिल्ला सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार सरकारले गर्न आग्रह गरिएको छ । यस्ता विपद्को बेला सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार, राहत तथा सहयोग गर्न तयार रहन पार्टी पङ्क्तिलाई आव्हान समेत गरिएको छ । यसैगरी नेकपा एमाले तुर्माखाँद पालिका कमिटी अध्यक्ष गौमती शाहीले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
यस्तै विभिन्न पालिकाका प्रमुख, सरोकारवाला, राजनीतिक दलका प्रमुख प्रतिनिधिले पनि दुःख व्यक्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्