तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका २७ वडा बाढी पहिरोको उच्च जोखिममा

बागलुङ । जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले वर्षाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपका कारण जिल्लाका २७ वटा वडा उच्च जोखिममा रहेको जनाएको छ ।

विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुनसक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो ।

प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ । विगत वर्षहरूको बाढी पहिरोको प्रवृत्तिलाई विश्लेषण गर्दा बडिगाड गाउँपालिकाको बडिगाड खोलाको तटीय बस्ती, काठेखोला–५ बिहुँ काउले क्षेत्र, बरेङ–१ र ४ वडा, निसीखोला–७, गलकोट नगरपालिका– १, २ र ३ गौदीखोला र दरमखोलाका तटीय क्षेत्र बागलुङ नगरपालिका–१ मालढुंगादेखि कालीगण्डकी नदीका तटीय क्षेत्र, जैमिनीका कालीगण्डकी नदीका तटीय क्षेत्र, काठेखोला–२ अछेते बजार, दोबिल्ला क्षेत्र र तमान गाउँपालिकाको बोङ्गादोभान क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गको बागलुङ निसीखण्ड अन्तर्गत बा.न.पा.–३ बोक्से, काठेखोलाको टापु, काउले, गलकोट नगरपालिकाकोको नरेठाँटी, हटिया, बानिया, मनेवा क्षेत्र, बडिगाडको खर्वाङ, राक्से, ग्वालीचौर, खौलार, खार, बालुवा, तुरतुरे, ढोरपाटनको खप्तरीवाङ पहिरो, ताराखोलाको सिले, साँधी, ताराखोला तटीय क्षेत्र, कालीगण्डकी कोरिडोरको गलुवा, धापेखोला, सरङी, कैया, टुटुङा, जैमिनीघाट, बेलबगरलाई पहिरोको उच्च जोखिमका सूचीकृत गरिएको छ ।

पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडाहरू प्रभावित भएको पाइन्छ । स्थानीय तहबाट प्राप्त विवरणको आधारमा ३७ वटा वडाहरू उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडाहरू निम्न जोखिममा छन् । यस वर्षको मनसुनमा पहिरोको कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने सम्भावना उल्लेख गरिएको छ । पहिरोको जोखिममा रहेका झण्डै २० विद्यालय पहिरोको कारण पूर्ण तथा आंशिक रुपमा भत्किएर पठनपाठनमा बाधा पुग्न आँकलन गरिएको छ ।

पहिरो गएको ठाउँमा उद्धार तथा राहतको लागि स्थानीय तह, नेपाली सेना, प्रहरी र नेपाल रेडक्रस सोसाइटीको उद्धार टोली घटनास्थलमा पठाउने निर्णय भएको छ ।

सूचना सङ्कलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाहरूले राहत तथा उद्धार सम्बन्धी कार्य सुरुवात गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायी रुपमा बसोबास मिलाउनको लागि कार्य गर्ने साथै प्रभावितहरूको लागि अस्थायी टहराहरू वा सुरक्षित आश्रय स्थलमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button