तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बढ्यो श्रमिकको ज्याला

झापा । झापामा दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकको ज्याला वृद्धि भएको छ । साबिकको ज्यालामा दक्ष श्रमिकको रू १००, अर्धदक्षको रू १७० र अदक्ष श्रमिकको रू ६५ वृद्धि भएको हो ।

जिल्ला दररेट निर्धारण समिति झापाले आर्थिक वर्ष २०७९/०८० का लागि श्रमिकको नयाँ दररेट निर्धारण गरेको हो ।

नयाँ दररेट अनुसार अब दक्ष श्रमिकले प्रतिदिन रू ९२०, अर्धदक्षले रू ८५० र अदक्ष श्रमिकले रू ६५० ज्याला पाउने छन् । आ.व. २०७८/०७९ मा दक्ष श्रमिकको प्रतिदिन रू ८२०, अर्धदक्षको रू ६८० र अदक्ष श्रमिकको रू ५८५ ज्याला निर्धारण गरिएको थियो ।

त्यस्तै, सहजकर्ता (कक्षा १० पास) को प्रतिदिन रू ६००, नापी कार्यमा प्रयोग हुने जन्जिर दारको र सर्भे हेल्फलरको रू ५९९, क्याम्प वर्करको रू ४७३, सुपरभाइजर तह अनुसार रू ४७३ देखि रू ६६० सम्म निर्धारण गरिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम आव २०७९÷०८० का लागि दररेट निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षमा बसेको बैठकले श्रमिकको ज्याला, ढुवानी (लोड–अनलोडसमेत), नेपाल खाद्य संस्थानतर्फको ज्याला, मेसिनरी औजारको भाडादर, काठ दाउरा सङ्कलन, गोलिया ढुवानी, गाडी भाडा, गिटी, बालुवा तथा ढुङ्गालगायतको दररेट निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

जिल्ला दररेट निर्धारण समितिले आव २०७९/०८० का लागि दररेट निर्धारण गर्न गठन गरेको विभिन्न उपसमितिको सिफारिसबमोजिम नयाँ दररेट कायम गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button