तपाईँ सुन्दै हुनुहुन्छः

पालिका केन्द्र पुग्न अन्य तीन पालिका पार गर्नुपर्छ दमाचौरवासीलाई

सल्यान । स्थानीय सरकारलाई घर नजिकको सरकार भन्ने बुझिन्छ । स्थानीय पालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ तथा नगर कार्यपालिका हुन्छ ।

नेपालमा संघीय संरचना हुनु पूर्व तत्कालीन जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू यतिबेला स्थानीय तहले गर्ने गरेका छन् । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने नागरिकहरू यतिबेला आफ्नै स्थानीय पालिकाबाट गर्दै आएका छन् ।

तर छत्रेश्वरी गाउँपालिका १ र २ (साबिक दमाचौर गाविस) का नागरिक भने आफ्नै गाउँपालिकाको केन्द्र जान पनि जिल्ला सदरमुकामभन्दा टाढाको बाटो धाउने गरेका छन् । २०७२ मा स्थानीय तहको सीमाङ्कन गर्दा तत्कालीन दमाचौर गाविस सहित लेखपोखरा, झिम्पे र छाँयाछेत्रलाई मिलाएर छत्रेश्वरी गाउँपालिका बनाइएको थियो ।

स्थानीय तहको गठनसँगै गाउँपालिकाको केन्द्र छायाँक्षेत्रको भोटेचौरमा राखियो । भौगोलिक हिसाबले दमाचौरबाट भोटेचौर जानलाई जिल्ला भित्रका अन्य ३ वटा पालिका पार गर्नुपर्छ । दमाचौरबासीलाई भोटेचौर जानलाई बागचौर नगरपालिका हुँदै, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाको बाटो भएर पुग्नुपर्ने बाध्यता छ ।

गाउँपालिकाको केन्द्र जानलाई सबैभन्दा धेरै कष्ट वडा नम्बर १ वासीलाई हुने गरेको स्थानीय लाल बहादुर चन्दले बताउनुभयो । ‘हामीले आफ्नै गाउँपालिकाको केन्द्र जानलाई ३ वटा पालिका पार गर्नुपर्छ, यो कस्तो खालको संरचना हो ?’ उहाँले प्रश्न गर्नुभयो ।

त्यतिबेला ठुला नेताहरूले आफ्नो राजनीति अस्तित्वको लागि दमाचौरलाइ छत्रेश्वरीमा मिसाएर दुख दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘हामीलाई भौगोलिक दुरीको हिसाबले बागचौर धेरै नजिक पर्छ । तर दमाचौरमा नेताको पहुँच नहुँदा छत्रेश्वरीमा मिसाएर गाउँपालिका बनाइएको हो ।’

वृद्ध भत्ता ल्याउनकै लागि दुई तिन दिन लगाएर भोटेचौर जानुपरेको स्थानीय त्रिभान खत्रीको भनाई छ । उहाँले भन्नु भयो ‘हामी वृद्ध भत्ता ल्याउन बागचौर नगरपालिका हुँदै भोटेचौर जान्छौँ । एक दिनमा काम सकिँदैन ।’

दमाचौरमा पहिलेका नेतृत्वको पहुँच नहुँदा छत्रेश्वरीमा राखेकोले अन्याय भएको भन्दै स्थानीय केपी शर्माले अब दमाचौरलाइ बागचौरमा गाभ्नुपर्ने धारण राख्नुभयो । दमाचौरलाइ बागचौरमा मिलान गर्नको लागि दमाचौरबासीले छिट्टै सङ्घर्ष समिति बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button