हिमाली भेगका किसानलाई भालुले हैरान पार्यो

सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरि खाने खेती जोगाउनु कृषकहरूको बाध्यता बनेको छ ।
मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नुपरेको हो ।
भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका कृषक चेतबहादुर मगरले बताउनुभयो ।
“भालु खेद्न रातभर बारीमानै बस्नुपर्छ, एक छिन निदायो भने मकै सबै भालुले खाइदिन्छ”, उहाँले भन्नुभयो । रातभरि भालु धपाउन बारीमा बसेपछि विद्यालयमा आएका विद्यार्थी पनि निदाउने, शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको पिके माध्यमिक विद्यालयका शिक्षक विवेक कार्कीले बताउनुभयो ।
जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दु लगायतका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बनेको छ । बर्सेनी भालुको आक्रमणबाट कृषकहरू सख्त घाइते तथा केहीको मृत्यु भएका घटनाले समेत उनीहरू त्रसित बनेका हुन् । बेनीको फेरा आसपासका हरेक किसानले बारीमा छाप्रो बनाई टिन ठटाएर भालु लखेट्न थालेका छन् ।
“हामीले सुत्न पाएका छैनौँ, रातभर भालुको ड्युटी गर्दा ठिक हुन्छ, फेरी कति बेला आएर खाइहाल्छ” फेराका कृषक दावा शेर्पाले गुनासो गर्नुभयो । भालु मार्दा कानुन लाग्छ भन्छन् नमार्दा यसले त वर्षभरिका कमाई भुसुक्कै पार्ने भो –रोशीका कृषक पूर्ण तामाङले भन्नुभयो । भालुको आतङ्क बढेपछि राती घरबाहिर निस्कन समेत डर लाग्ने स्थानीय बताउँछन् । तामाखानी क्षेत्रमा मात्र पाँच वटाभन्दा बढी भालु रहेको उनीहरूको भनाइ छ ।
भालु एउटैले बारीमा पस्न पायो भने सबै मकै खाने र माड्ने गरेर स्वाहा पार्ने गर्दछ । जिल्लाका रिङमु, फेरा र जुनबेशी लगायतका क्षेत्रमा पनि भालुले सताएको कृषकहरूको गुनासो छ ।
यता जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले भने कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पुर्याउन नपाइने बताउँदै आएका छन् । अन्य वैकल्पिक उपायहरू अपनाएर नै बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान समेत नभएको जिल्ला वन कार्यालयले जनाएको छ ।
मानिसलाई नै क्षति पुर्याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइतेलाई ५० हजार र मृत्यु भएमा डेढ लाखसम्म क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था रहेको छ ।
वडा कार्यालयमा भालुलगायत जङ्गली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको आउने गरेको सोलुदूधकुण्ड नगरपालिका–३ का दर्जनौँ निवेदन दर्ता भएको वडा अध्यक्ष लाक्पागेलु शेर्पाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्