‘व्यास नगर समता’ आवासीय विद्यालयमा विद्यार्थीको खोजी सुरु

तनहुँ । व्यास नगरपालिकाले सञ्चालन गर्ने तयारी गरेको ‘व्यास नगर समता’ आवासीय विद्यालयमा विद्यार्थीको खोजी सुरु गरिएको छ ।
साउन महिनादेखि सञ्चालनमा ल्याउन लागिएको विद्यालयको लागि लक्षित विद्यार्थीलाई भर्ना खुला भएको हो ।
व्यास नगरपालिका–७ नरङ्गाफाँटस्थित क्यामिनकोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ ।
कुनै पनि बालबालिका शिक्षाबाट बञ्जित हुन नपरोस् भन्ने मुख्य उद्देश्यले समता विद्यालय सञ्चालनमा ल्याउन भर्ना खुलाइएको नगरप्रमुख न्यौपाने बताउनुभयो ।
यो विद्यालयमा नगरपालिका सम्पूर्ण सुविधा प्राप्त गरी अनाथ बालबालिका, सडक बालबालिका अभिभावक विहीन बालबालिका, असहाय बालबालिकाले अध्ययन गर्ने अवसर पाउनेछन् ।
नगरपालिकाले समता विद्यालयमा अध्ययन गर्न इच्छुक बालबालिकाहरू पहिचान गरी उल्लेखित विद्यार्थीहरूको आवेदन सङ्कलन अभियान कार्यमा सहयोग पुर्याउन सूचना जारी गरिएको शिक्षा शाखाका निमित्त प्रमुख नवीन पराजुलीले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिका भित्रका धार्मिक विद्यालयहरू, मातृ भाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरू तथा सामुदायिक सिकाई केन्द्रहरू सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति रहेको बताउनुभयो ।
समता विद्यालयमा भर्नाको लागि नगरपालिकाको कार्यालय वा सञ्चालन हुने विद्यालयमा आवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।
विद्यार्थी अनुपातमा बढी शिक्षक भएका विद्यालयबाट शिक्षकहरू राखेर अध्यापन गराइने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
विद्यालयमा खाना पकाउने भान्से र सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको नगरपालिकाले जनाएको छ ।
विद्यालय सञ्चालनको लागि विद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम वितरण गर्न सूचना जारी गरेको शिक्षा अधिकृत पराजुलीले जानकारी दिनुभयो ।
कक्षा ५ सम्म विद्यार्थी भर्नाका लागि आवेदन फाराम वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाभित्र रहेका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम र वेद व्यास सम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्