तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा वर्षाले राहत

महोत्तरी । उखरमाउलो गर्मीबिच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन् ।

file photo

पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी परेको हो ।

“धान अब के होला भनेर आश मारेका थियौँ, आजको वर्षाले फेरि आश जगायो”, बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भन्नुभयो, “अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ ।” आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको महोत्तरीका किसानको भनाइ छ । केही बेरकै भए पनि आजको वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ ।

यसैबीच मौसमविद्ले अब दुई/तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । महोत्तरीमा हालसम्म पानीको अभावले धान रोपाइँ गतिमा बढ्न सकेको छैन । जिल्लामा कूल खेतीयोग्य जग्गामा १० प्रतिशत मात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button