आगामी निर्वाचनसम्म तालमेल हुन्छ: प्रवक्ता महत
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो ।

स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उहाँले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताउनुभयो । शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उहाँको भनाइ थियो ।
तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्क्तिको भावनाअनुसार हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकाङ्क्षाअनुसार काम गरेको बताउनुभयो । विषम परिस्थितिमा काँग्रेसको नेतृत्वमा सरकार बनेकोले त्यसको सामना गर्दै सरकार अघि बढेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भ्रातृ सङ्गठनहरूले यही साउन महिनाभित्र पूर्णता पाउने बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्