तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनबाट लिने सेवालाई प्रभावकारी बनाउन आग्रह’

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री कुँवरले प्रविधि मैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरीय र प्रभावकारी ढंगले जनता समक्ष पुग्ने गरी काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको हो ।

उहाँले कुनै पनि बेला कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले ग्रामीण भेगबाट सेवा लिन आउने सेवाग्राहीले समेत यो राज्य मेरो पनि हो है भन्ने खालको अनुभूति हुने गरी काम गर्न सबै कर्मचारी र सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । 

मन्त्री कुँवरले अहिले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाइन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको बताउनुभयो । 

उहाँले वैदेशिक रोजगारमा ९ लाखसम्म ठगिएका गुनासो आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र स्वयम् कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो न्यूनीकरणमा लाग्ने बताउनुभयो । 

मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठुलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैङ्क प्रणालीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने बताउनुभयो । 

अहिले सरकारले परिचयपत्र, इपासर्पोट, श्रम स्वीकृत, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधी उपचार सेवा दिने जस्ता कामहरू अनलाइनबाटै गरिरहेको छ ।  त्यस्तै अनलाइनबाट दिने सेवामा सबैभन्दा प्रभावकारी श्रम स्वीकृत दिने काम भइरहेको छ । 

छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड,  सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुलर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग लगायतका कर्मचारीको सहभागी रहेको थियो । 

उहाँहरूले आफूहरूले दिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि सबै विभागबाट एक, एक जना प्रतिनिधि मिलेर समिति समेत बनाउनुभएको छ । 

समितिले प्राविधिक रुपमा देखापरेका समस्यालाई पहिचान गरी समाधानका लागि पहल गर्ने काम गर्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button