कृषि कम्पनीको ५० हजार मेट्रिक टन मल साउन तेस्रो साता मात्रै वीरगञ्ज आइपुग्ने
वीरगञ्ज । कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर मार्फत मगाएको ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी मल साउनको तेस्रो सातापछि मात्रै वीरगञ्ज आइपुग्ने भएको छ ।
कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्रप्रसाद चम्लागाईंले मल अझै कोलकाता बन्दरगाहसम्म आई नसकेको बताउनुभयो ।

कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गर्न लागेको ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिकटन डीएपी मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीलाई दिएको र सो मल साउनको पहिलो सातासम्म कोलकाता आइपुगे पनि त्यहाँबाट नेपाल आइपुग्न कम्तीमा साउन २० सम्म लाग्ने चम्लागाईले बताउनुभयो ।
भारतबाट ‘जी टु जी’ प्रक्रियाबाट ल्याउने भनिएको युरिया मलको सम्बन्धमा पनि आफूलाई जानकारी नरहेको उहाँले बताउनुभयो ।
किसानलाई भने युरिया मल अत्यावश्यक भइसकेको छ । रोपाइँ गरिसकेकालाई धानमा छर्न मल चाहिएको छ ।
नेपाल किसान संघका केन्द्रिय अध्यक्ष गणेश तिमिल्सीनाले मधेश प्रदेशसँगै मुलुकभर मलको अभाव भइरहे यस वर्ष धानको उत्पादन नै घट्न सक्ने बताउनुभयो ।
कम्पनीले गत आर्थिक वर्षमा मधेश प्रदेशमा आवश्यक पर्ने मलमध्ये ८० प्रतिशत मात्रै मल आपूर्ति गरेको थियो ।
प्रदेशमा ४२ हजार २ सय मेट्रिक टन युरिया मल वितरण गर्ने लक्ष्य रहेकोमा ३६ हजार ४ सय २३ मेट्रिकटन मात्र वितरण भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्