श्रोत खुल्न नसकेको ४१ लाख ५५ हजार नगदसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । प्रहरीले वीरगन्जबाट श्रोत खुल्न नसकेको ४१ लाख ५५ हजार नगद सहित अवैध हुन्डीको कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त गस्ती टोलीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बरको विआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटर साइकलको सिटमुनि तथा ट्याङ्कीमा लुकाइछिपाई राखेको अवस्थामा श्रोत खुलाउन नसकेको ४१ लाख ५५ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
रकम सहित मोटरसाइकलका चालक भारत विहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल ११ बस्ने २५ वर्षीय राकेश कुमारलाई समेत पक्राउ गरिएको बस्नेतले जानकारी दिनुभयो ।
अभियुक्तलाई मोटरसाइकल नगद रकम सहित जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको र निजलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्