सिमेन्टपछि रुपन्देहीबाट टिएमटी छड भारत निर्यात सुरु

रुपन्देही । स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान दिएसँगै नेपाली उद्योगले आफ्नो उत्पादन भारतमा निकासी गर्न सुरु गर्न थालेका छन् ।
केही दिनअघि तानसेन सिमेन्ट उद्योगले सिमेन्ट निर्यात सुरु गरेको थियो । बुधबार श्री स्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३, सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधवारदेखि भारतमा स्टिल्स निर्यात गर्न सुरु गरेको हो ।
आज पहिलो खेपमा १ ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरिएको हो ।
बलियो र गुणस्तरीय निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले सरकारले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार भारत निर्यातको शुभारम्भ गरेको श्री स्टिल्स प्रालिका सञ्चालक राजेश अग्रवालले बताउनुभयो ।

“कहिले लोडसेडिङ, कहिले विद्युत् ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चुनौतीको सामना गर्दै आज निर्यातको शुभारम्भ गरेका छौँ, यो सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हा”, उहाँले भन्नुभयो ।
“हाम्रो गुणस्तर र उत्पादनलाई कायम तथा वृद्धि गर्दै मुलुकलाई स्टिल्समा आत्मनिर्भर बनाउँदै विदेश निर्यातमा पनि वृद्धि गर्ने अभियानका साथ अगाडि बढ्ने छा”, उहाँले भन्नुभयो । उहाँले नगद अनुदान घोषणा भए पनि छिटो कार्यविधि बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
उद्योगका कार्यकारी निर्देशक सोनेस अग्रवालले छड भारत निकासीपछि देशमा मुद्रा सञ्चिति बढ्ने बताउनुभएको छ । ।
केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टिल्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको छ ।
वार्षिक १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको प्रालिका ब्राण्ड म्यानेजर दिपक शाहले बताउनुभयो ।
उहाँले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नि, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिनुभयो ।
प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ । यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड भएको शाहले दाबी गर्नुभयो ।
तीन अर्ब लगानी रहेको रोहिणी गाउँपालिका वडा नं ३ सेमरहवास्थित श्री स्टील्स प्रालिमा पाँच सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । केही दिनअघि यहाँबाट उत्पादन भएको पाल्पा सिमेन्ट भारत निर्यात सुरु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्