तपाईँ सुन्दै हुनुहुन्छः

‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गर्नुभएको छ ।

मङ्गलवार मन्त्रालयमा भएको भेटवार्तामा मेयर शाहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न मन्त्री पौडेलले आग्रह गर्नुभएको हो । पौडेलले काठमाडौँ महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाभित्रको दरबार हाई स्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्र अ राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।

शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट पनि गर्नुपर्ने पौडेलको भनाइ छ ।

भेटमा बालेन्द्र शाहले महानगरपालिकाभित्रका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो ।

प्रमुख शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रुँगो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button