तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालको बेडमै पुगेर नागरिकता प्रदान

सुर्खेत । रुखबाट खसेर अमृता चेपाङको मेरुदण्ड भाँचियो । त्यसयता उहाँको तल्लो शरीर चल्दैन । दिसा–पिसाब गर्नका लागि पनि अरूको उहाँलाई सहारा चाहिन्छ । घरको आर्थिक अवस्था कमजोर छ । विपन्न परिवारकी अमृतासँग उपचारका लागि पर्याप्त रकम नहुँदा प्रदेश अस्पताल कालागाउँको अर्थोपेडिक वार्डको २३४ नम्बर बेडमा जीवन सङ्घर्ष गरिरहनुभएको छ । 

उहाँलाई अहिले नियमित थेरापी र औषधि सेवन गर्न हम्मे–हम्मे परिरहेको छ । त्यसैमा नागरिकता नहुँदा उहाँलाई सरकारबाट पाउने सुविधाबाट समेत वञ्चित हुनु परेको थियो । मेरुदण्ड भाँचिएकी अमृतालाई प्रशासन कार्यालयसम्म आउन सक्ने अवस्थामा थिएन । 

तर केही नागरिक अगुवाले सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई अमृताको समस्या सुनाएपछि प्रजिअको निर्देशनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले अस्पतालको बेडमै पुगेर अमृतालाई नागरिकता प्रदान गर्नुभएको छ । 

“नागरिकता सबै प्रकारका सुविधा पाउने प्रवेश बिन्दु हो”, अमृतालाई ओछ्यानमै नागरिकता दिन पुग्नुभएका प्रशासकीय अधिकृत थापाले भन्नुभयो, “प्रशासन जनताप्रति जिम्मेवार छ, अपाङ्गतालगायतका कारणले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने नीति लिएका छौँ ।”

गोरखा जन्म घर भएकी अमृताले गुर्भाकोट नगरपालिका–५, का शङ्कर पुनसँग विवाह गरेर सुर्खेत आउनुभएको हो ।

आर्थिक अभावका कारणले औषधि सेवन गर्न र थेरापी गर्न पनि सकस भइरहेका बेला प्रशासनको पहलले सहयोग पुग्ने अमृताले अपेक्षा राख्नुभएको छ । नागरिकता पाएपछि भने केही सहज हुने उहाँको विश्वास छ । 

“प्रशासन कार्यालयका सरहरूले अस्पतालको बेडमै आएर नागरिकता दिनुभयो, अब अपाङ्गता परिचयपत्र बनाएपछि औषधिमा लाग्ने केही खर्च जुट्ला”, उहाँका पति शङ्कर पुनले भन्नुभयो, “विपन्न नागरिकलाई अपाङ्गता परिचयपत्र देखाउँदा औषधि खरिदमा केही छुट हुन्छ भन्ने सुनेको छु ।” 

उहाँले आर्थिक अभावकै कारणले उपचारसँगै खान बस्नको समेत धेरै समस्या भइरहेको दुःखेसो पोख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button