१ सय ४३ व्यावसायिक भेडापालक किसानलाई ‘गोठालो भत्ता’
जुम्ला । जुम्लाका १ सय ४३ जना व्यावसायिक भेडापालक किसानले ‘गोठालो भत्ता’ पाएका छन् ।
कर्णालीको कृषि मन्त्रालयको वार्षिक कार्यक्रम अन्तरगत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला मार्फत जुम्लाका १ सय ४३ जना भेडापालक किसानले ‘गोठालो भत्ता’ पाएका हुन् ।

पशु सेवा कार्यालयले गत वर्ष आह्वान गरेको प्रस्तावनामा जुम्लाका २ सय ६५ किसानले निवेदन दिएका मध्ये १ सय ४३ जनाले ‘गोठालो भत्ता’ पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो ।
५० भन्दा माथि भेडा पाल्ने किसानले मात्र ‘गोठालो भत्ता’ पाएका छन् । किसानलाई मासिक १ हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ । ‘गोठालो भत्ता’को रकम सम्बन्धित किसानको बैङ्क खातामै जम्मा गरिएको छ ।
प्रति किसानले १८ हजार पाउँदा जुम्लाका १ सय ४३ किसानले झण्डै २५ लाख ७४ हजार बराबर ‘गोठालो भत्ता’ पाएका छन् । कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्