तपाईँ सुन्दै हुनुहुन्छः

देशभर करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । साउन २ गते सोमबारसम्म देशभर करिब ७० प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

फाइल तस्बिर

असार मसान्तसम्ममा देशभर ६८ प्रतिशत अर्थात् ९ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइ भइसकेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउन लागेसँगै पुन मनसुनी वर्षा भएर बाँकी क्षेत्रमा पनि रोपाइ भइरहेको छ ।

कृषि विभागले प्रदेशहरूसँगको समन्वयमा तयार गरिएको धान रोपाइको असार २८ सम्मको तथ्याङ्क अनुसार ६० प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । गत वर्ष २०७८ को असार ३१ सम्ममा ७६ प्रतिशत क्षेत्रमा धान रोपाइ भएको थियो । यस वर्ष असार ३२ सम्ममा ६८ प्रतिशत रोपाइ भएको छ ।

यस हिसाबले गत वर्षको तुलनामा करिब ८ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ । विशेष गरी प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो ।

मनसुन सुरु हुनासाथ श्रावण १०–१५ सम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरूमा जस्तै लगभग शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले असार ३२ गते सम्ममा देशभर ६८ प्रतिशत क्षेत्रमा धान रोपाई भइसकेको जानकारी दिनुभयो ।

असार २८ गतेसम्म सबै भन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत खेतहरूमा धान रोपाइ भएको छ । यस अवधिमा सबै भन्दा कम ३९ प्रतिशत धान मधेश प्रदेशमा रोपिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button