तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक शौचालय बनाउन पोखराका होटल, रेस्टुरेन्ट र बैङ्कलाई आह्वान

कास्की । पोखरा महानगरपालिकाले आफ्नो शौचालय सार्वजनिक बनाउन चाहेका निजी क्षेत्रलाई महानगरको कार्यालयमा सम्पर्क राख्न सूचना प्रकाशित गरेको छ । संस्था वा व्यक्तिगत विवरणसहित साउन मसान्तभित्र सम्पर्क राख्न सूचनामा उल्लेख गरिएको छ ।

मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैङ्क, वित्तीय संस्था, होटल, रेस्टुरेन्ट लगायत संस्थाका व्यावसायिक, गैर-व्यावसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाइ र स्यानिटरी सामग्रीमा महानगरले सहयोग गर्ने, विशेष लोगो र पहिचानयुक्त सङ्केत राख्ने छ ।

यसअघि महानगरको कार्यपालिका बैठकबाटै उक्त निर्णय भएको थियो । इच्छुक संस्थाले साउन मसान्तभित्र आफ्नो विवरण पेश गर्नुपर्ने छ । सहयोग गर्ने संस्था वा कम्पनीको विवरण वेबसाइटमा राख्ने तथा महानगरबाट उपलब्ध सेवा सुविधामा प्राथमिकता दिइने मेयर धनराज आचार्यले बताउनुभयो ।

शौचालयमा आवश्यक पर्ने सफाइका सामान, स्यानिटरी प्याड र शौचालय पहिचानका लागि लोगो पनि उपलब्ध गराउने जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button