मिथिलाको मधुश्रावणी पर्व आजदेखि सुरु

जनकपुरधाम । प्रत्येक वर्ष साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथिबाट सुरु भएर १५ दिनसम्म मनाउने मिथिलाका महान् पर्व मधुश्रावणी पर्व पनि आजदेखि सुरु भएको छ ।
नव विवाहित कन्याहरूले समूहमा भेला भएर आज साँझदेखि परम्परागत गीतसहित गाउँ तथा घर नजिकको फूलबारीमा फूल टिपेर ल्याई भोलिपल्ट बिहान मधुश्रावणी सम्बन्धी कथा सुनेर नाग देवता तथा गौरीको पूजा गर्ने गर्दछन् ।
साउन महिनालाई मधुमास पनि भन्ने गरेकाले यसमा विवाहित कन्याहरूले पतिको दीर्घायुको कामना तथा अगाध प्रेमको चाहनासहित पर्व मनाउने गर्दछन् ।
यस पर्वमा बासी फूलले पूजा गर्ने चलन रहेको छ । यस पर्वमा नागदेवताका अतिरिक्त शिव तथा पार्वतीको पूजा गर्ने गरिन्छ ।
मधुश्रावणी पर्व गर्ने विवाहित कन्याले नुन रहित खाना खाने गर्दछन् । यस पर्वका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ता कपडा सहितका पूजा सामाग्रीहरू ससुराली पक्षबाट आउने गर्दछ ।
विवाहित कन्याहरू सजिएर फूल टिप्नुका साथै विभिन्न प्रकारको हास तथा परिहासहरु पनि गर्ने गरेका छन् । यसका साथै मिथिलाका परम्परागत गीतहरू पनि गाउने चलन रहेको छ । यसले मिथिलाको गाउँ शहर वातावरण निक्कै मनमोहक बन्ने गरेका छन् ।
पर्वको अन्तिम दिन विशेष पूँजाअर्चना गरेर कथा सुनि ससुराली पक्षबाट आएको कोसेलीहरू वितरण गर्ने, खुवाउने चलन रहेको छ । खास गरेर मिथिलामा बसोबास गर्ने, मैथिल बाहुन, कायस्थ, सोनार तथा लोहार जातिका नव बिबाहिता कन्याहरूले मधुश्रावणी पर्व गर्ने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्