डिभिजन वन कार्यालय बर्दियाले गर्यो प्रदेशकै ठुलो क्षेत्रमा वृक्षारोपण

बर्दिया । बर्दियाको गुलरीया नगरपालिका-२ संगम बस्तीस्थित बेलाफाँटामा वन कार्यालयले वृक्षारोपण गरेको छ ।
लामो समयदेखि खाली रहेको करिब २५ हेक्टर क्षेत्रमा तारबार गरी वृक्षारोपण सुरु गरिएको छ ।
लामो समयदेखि खाली रहेको सो क्षेत्रमा डिभिजन वन कार्यालयले समुदायको समन्वयमा वृक्षारोपण गरेको हो ।
करिब ४४ हजार बोट बिरुवा लगाउने लक्ष्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताउनुभयो ।
जग्गाको सदुपयोग गरी लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो क्षेत्रमा वृक्षारोपण गरी लोपोन्मुख प्रजाति लगायत जामुन, अर्जुन, शित्तलचिनी, खैर, सिसौ, सिरिस र मौहुवा लगायतका बिरुवा वृक्षारोपण गरेको छ ।
यस क्षेत्रलाई संरक्षण गर्न सके संगमबस्तीका ७ सय उपभोक्ता यस वनबाट लाभान्वित हुने र मौहुवा जातको बिरुवालाई हामीले विशेष प्राथमिकतामा राखेको शर्माले बताउनुभयो ।

२०५८ सालदेखि बसोबास गर्दै आएको यस बस्तीमा रहेको बाझो क्षेत्रलाई वनले सदुपयोग गरी वृक्षारोपण गरेकोले हामी स्थानीयलाई ठुलो राहतको काम गरेको संगमबस्ती वन संरक्षण समितिका अध्यक्ष बिपेन्द्र बहादुर बस्नेतले बताउनुभयो ।
वनले गरेको वृक्षारोपणबाट हाम्रो समुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने नै छ । अबका दिनमा यस क्षेत्रको संरक्षण गर्नु हाम्रो पनि दायित्व रहेको बस्नेतले बताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीका अनुसार आफ्नै लगानीमा कार्यालयको परिसर भित्र उत्पादन गरेको विभिन्न जातका फलफूल र बिरुवाको बेर्ना निःशुल्क रुपमा धमाधम डिभिजन वन कार्यालयले वितरण गरिरहेको छ ।
रोप्न इच्छा भएकालाई आवश्यक सुझाव सल्लाहका साथ निःशुल्क रुपमा बिरुवाका बेर्ना उपलब्ध गराइरहेको बिडारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्