तपाईँ सुन्दै हुनुहुन्छः

ब्युँतिँदै खुम्बुको पर्यटन

सोलुखुम्बु । कोरोना संक्रमण कम हुँदै जाँदा यस वर्ष सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

दुई वर्षसम्म करिब शून्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशत भन्दा बढीले पर्यटकको आगमनमा वृद्धि भएको छ ।

आर्थिक बर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३.६२ प्रतिशतले पर्यटक आवागमन बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जको तथ्याङ्क अनुसार आ.ब.०७७/०७८ मा चार हजार ३३५ जना पर्यटकले भ्रमण गरेको खुम्बु क्षेत्रमा ०७८/०७९ मा २६ हजार ४७४ जनाले भ्रमण गरेका छन् । जुन सङ्ख्यात्मक हिसाबले २२ हजार १३९ जनाले बढी हो ।

जसमा २१ हजार १९८ जना विदेशी र पाँच हजार २७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कात्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

खुम्बु क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कु लगायतका हिम चुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button