मन्त्री श्रेष्ठसँग नाइजेरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्द्धनका विषयमा बिचार विमर्श भयो ।
मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको बताउनुहुँदै पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको बताउनुभयो ।
कोभिड महामारीको असर कम भएपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनको योजना अघि बढाइएको उहाँले बताउनुभयो ।
प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा उस्तै रहेका नेपाल र नाइजेरियाबीच अनुभव आदानप्रदानबाट एक–आपसमा लाभ लिन सकिने उहाँको भनाई छ ।
प्रकृति र संस्कृतिलाई पर्यटन समृद्धिको मुख्य आधारको रुपमा लिएका नेपाल र नाइजेरिया दुवै मुलुकबीच पर्यटन क्षेत्रको साझेदारी गर्न तयारी अघि बढाउने बारे पनि उहाँहरुबीच छलफल भएको थियो ।
मन्त्री श्रेष्ठले नेपालमा रहेर नाइजेरियन खेलाडीहरूले फुटबल खेल्ने गरेको बताउनुहुँदै खेलकुदले पनि दुई देशको सम्बन्ध विकासका साथै पर्यटन विकासका सहयोग गरेको बताउनुभयो ।
भेटका अवसरमा राजदूत सुलेले पर्यटन क्षेत्रमा हुने साझेदारीले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताउनुभयो ।
भेटका क्रममा मा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
भारतको नयाँ दिल्लीमा आवासीय राजदूतका रुपमा रहनुभएका सुले नेपाल सहित बङ्गलादेश र श्रीलङ्काका लागि गैर आवासीय राजदूत हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्