तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला विधुतगृह घटना : मृतकका परिवारलाई एक लाख राहत दिने हिमाको निर्णय

जुम्ला । बिहीबार राती हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विधुतगृह भासिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँ, सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ, गैसस सहितको टिमले घटनास्थलको अवलोकन गरेको हो ।

घटना स्थलको अवलोकन गरेपछि हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरूप एक लाख रकम दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी संघीय सरकारले नियमानुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले बताउनुभयो ।

प्रजिअ प्रसाईँले आवश्यक प्रमाण भएमा चाडै श्रीमान्को खातामा रकम हालिने उहाँको भनाई छ । यसैगरी मृतकको पोस्टमार्टम समेत भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button