प्रेस युनियनलाई व्यावसायिक र समावेशी बनाउनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको समय नजिकिँदै गर्दा आगामी नेतृत्वको लागि बहस र छलफल सुरु भएको छ ।
नेपाल प्रेस युनियनको आगामी रणनीति र नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा पनि बहस र पैरवी हुन थालेको हो ।
युनियनको आगामी नेतृत्वका लागि कार्यसमितिमा रहनुभएका व्यक्तिदेखि पूर्व कार्य समितिमा रहनुभएका व्यक्ति र सल्लाहकार समितिमा रहनुभएका व्यक्तिले समेत सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यसै सन्दर्भमा पब्लिक मिडिया फोरम नेपालले आज रेडियो नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले पनि प्रेस युनियनलाई व्यावसायिक र समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले व्यावसायिक र मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।
प्रेस युनियन र नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष अनिता बिन्दुले सम्पूर्ण सञ्चार जगतको नेतृत्व प्रेस युनियनले गर्नुपर्ने भन्दै समावेशी प्रेस युनियन आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रेस युनियनको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुहुँदै अन्य प्रेस सम्बद्ध सङ्गठनमा प्रेस युनियनको नेतृत्व दिलाउन वर्तमान कार्य समिति सफल भएको बताउनुभयो ।
पब्लिक मिडिया फोरमका संयोजक दुर्गा फुयाँलले सरकारी सञ्चार माध्यमहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रेडियो नेपालका साथै नेपाल टेलिभिजन,राष्ट्रिय समाचार समिति र गोरखापत्रमा कार्यरत प्रेस युनियन सम्बद्ध सञ्चारकर्मी तथा अन्य निजी छापा तथा विद्युतीय सञ्चार संस्थामा आबद्ध युनियनकर्मीको सहभागिता रहेको थियो ।
नेपाल प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्