वन क्षेत्रभित्र रहेका अवैध बस्ती तथा क्रसर उद्योग हटाइने वनमन्त्री यादवको दाबी

वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रभित्र रहेका अवैध बस्ती तथा क्रसर उद्योग हटाइने बताउनु भएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घले आज मन्त्री यादवको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अवैध बस्तीको कारण वन विनास हुने गरेको र क्रसर उद्योगहरूले चुरे दोहन गर्ने गरेको कारण हटाउन आवश्यक रहेको बताउनुभयो ।
अहिलेसम्म दशौं अर्ब रुपैयाँ चुरे संरक्षणमा खर्च भए पनि अवैध क्रसर उद्योगको कारण चुरे दोहन नरोकिएको दाबी गर्नुभयो ।माफियाहरूले लामो समयदेखि राजनीतिक संरक्षणमा वन क्षेत्र भित्र नै अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेर वन विनास गर्दै आएको मन्त्री यादवको दाबी थियो ।
मन्त्रालय अन्तर्गत विभिन्न किसिमका नामाकरण गरी वन कटानी हुने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै वनसँग जोडिएका झोलेछाप संस्थाहरू खारेज प्रक्रियामा जाने दाबी गर्नुभयो ।
उहाँले विश्वभर अहिले औषधिको रुपमा गाँजा खेती भइरहेको तर नेपालमा प्रतिबन्ध लगाउनु गलत भएको बताउँदै जडीबुटीको रुपमा प्रयोग हुने गरी गाँजा खेती गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मधेस प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले वीरगंजलाई हरित वीरगंज बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंजमा रहेका सबै सडक पेटीमा विज्ञको सल्लाह अनुसार वृक्षारोपण गरिने बताउनुभयो ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश लाठ, पूर्वअध्यक्ष अशोक टेमानी, अशोक वैद्य, गोपाल केडिया, प्रदीप केडिया लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्