श्यामचेत पहिरोबाट ४० घरपरिवार विस्थापित
गोरखा । जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बु स्थित श्यामचेतमा पहिरो जाँदा ४० घर विस्थापित भएका छन् । बुधवार साँझ गएको पहिरोले तीनवटा धन्सार घर बगाएको र अन्य करिब ४० वटा भन्दा बढी घर जोखिममा परेको हो ।
जोखिममा रहेका घरबाट बुधवार राती स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशु भने बिहीबार बिहान सारिएको आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले बताउनुभयो । ‘केही बस्तुभाउ बगाएको, मरेको छ, सहायताले उद्धार गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।
विस्थापितहरू कोही आफन्तको घरमा, गुम्बामा, सिद्धार्थ वनस्थली आधारभूत विद्यालयमा अस्थायी रुपमा बस्ने तयारीमा छन् ।
पहिले तीन तहमा जाली भरेर गाउँलाई पहिरोबाट जोगाइएको वडा अध्यक्ष सूर्य घलेले बताउनुभयो । पहिलो तहको जाली नाघेर दोस्रो र तेस्रो तहको जाली भत्काएर पहिरो गाउँको बिच भागबाट बग्यो । पहिरोको बिचमा पर्ने ३० घर र वरपरका अन्य १० घरमा तत्काल मान्छे बस्न खतरा रहेको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले पहिरो नियन्त्रणका लागि दिगो रुपमा काम हुन नसकेको बताउँदै थप अध्ययन गरेर अघि बढ्ने बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोली बुधवार राती नै पहिरो गएको ठाउँमा पुगेर स्थानीयलाई सुरक्षित ठाउँमा सारेको र बिहीबार बिहान फेरी पनि पहिरो गएको मानवीय क्षति भने नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्