बौद्ध धर्मावलम्बीहरूको पर्व वर्षावास सुरु
रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास बुधवारदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा, तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यस वर्षको वर्षावास सुरु भएको हो ।

भगवान् बुद्धले प्रतिपादन गरेका २२७ नियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिव्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ । यो पर्व मनाउन बौद्ध धर्मावलम्बीहरू लुम्बिनीमा जम्मा भएका छन् । विभिन्न देशबाट पनि यो पर्व मनाउन बौद्ध धर्मावलम्बीहरू भेला भएका छन् ।

तीन महिने वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुभारम्भ गर्नुभएको हो ।
वर्षावास भनेको भिक्षुहरू तीन महिना एकै विहारमा बसेर अध्ययन एवम् चिन्तन मनन गर्नु हो ।
भिक्षुहरूको तीन महिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय विहारका उपासक उपासिकाहरुले खुसीले कठिन उत्सव मान्ने परम्परा छ । उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुलाई कठिन चीवर दान गर्ने परम्परा रहेको बौद्ध धर्मावलम्बीहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्