भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टा सम्मानित
विराटनगर । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

आज विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईँ, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका सङ्ग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित हुनुभयो । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको थियो ।
सोही अवसरमा भानु चतुर्भुज आशावादी सम्मान मिलन सिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको थियो । उहाँहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेल लगायतले आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट नेपाललाई जोडेको बताउनुभयो ।
सोही अवसरमा आयोजित बहुभाषिक कवि गोष्ठीमा एक दर्जन बढी कविहरूले विभिन्न भाषाका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले गीत तथा नृत्य पनि प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्