‘प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विपन्न वर्गको आर्थिक अवस्था सुधार’
कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताउनुभएको छ ।

कैलालीको धनगढीमा मङ्गलवार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमको समापनमा मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेष गरी विपन्न वर्गका नागरिकहरूको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताउनुभयो ।
स्थानीय स्तरमा आवश्यकताको पहिचान गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्री कुँवरको भनाई छ । देश विकासमा युवा जनशक्तिको अनिवार्य सहभागितामा जोड दिँदै उहाँले दक्ष युवा जनशक्ति उत्पादन र तिनीहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरूको गम्भीर ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डन्डराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनपछि भएका उपलब्धि र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्