तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका दशवटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता

पाल्पा । जिल्लाका दशवटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ ।  दुई नगरपालिका र ८ वटा गाउँपालिका रहेको पाल्पाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दशवटै स्थानीय तहहरुले पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेका थिए । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरी बताउनुभयो ।

यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालबालिकाहरूलाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ ।यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो ।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकाङ्क पुरा गर्नु पर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकाङ्क पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button