‘चाँगुनारायणलाई पाँच वर्षमा समृद्ध नगरपालिका बनाइने’
भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणलाई अबको पाँच वर्षमा समृद्ध नगरपालिका बनाउने बताउनुभएको छ ।
नगरपालिकाको सहयोग र समन्वय तथा इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा.ली.को आयोजनामा सम्पन्न ‘चाँगुनारायणको विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले नगरपालिकाले महादेव खोला बहुआयामिक परियोजना सञ्चालन गर्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्र आफैमा पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक क्षेत्र भएकाले यसको पहिचानलाई अझ उचाइमा पुर्याउन नगरका गौरवको योजनाहरू अगाडि सारेको बताउनुभयो । उहाँले धार्मिक क्षेत्रमा पर्यटकीय सडकको रुपमा विकास गर्ने मुख्य योजना अगाडि सारेको बताउनुभयो ।
नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यसबापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
नगर प्रमुख खत्रीले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा बिस्तार गर्ने र नसर्ने रोग बढिरहेकाले समस्याको पहिचान गर्दै रोकथामका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
नगरपालिकाले नागरिक केन्द्रित कार्यक्रम अगाडि सारेको भन्दै नगर भित्रका विद्यालयहरूमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सामुदायिक विद्यालयमा विद्युतीय बस सञ्चालन गर्ने नीति लिँदै त्यसका लागि अनुदानको व्यवस्था गर्ने, विद्यार्थीलाई खाजा कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको प्रति व्यक्ति रु. १५ मा नगरपालिकाले रु. १० थपेर रु. २५ पुर्याएको बताउनुभयो ।
उहाँले दुई वर्षभित्र नगरपालिकाको आफ्नै भवन निर्माण सम्पन्न गरेर सार्ने बताउँदै स्थानीय नागरिकले पनि विकासमा सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले स्थानीय तहमा काम धेरै भएको तर जनशक्ति निकै कम भएको सन्दर्भ कोट्याउँदै यसको भार वहन क्षमता कति हो त्यो स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्