नेपालगन्जमा मधुमेह सेवा केन्द्र सञ्चालन
नेपालगञ्ज । नेपालगन्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त केन्द्रको आज एक कार्यक्रमबीच स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले उद्घाटन गर्नुभयो ।

करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको लायन्स पूर्व डिस्ट्रिक्ट गभर्नर श्याम शाक्यले बताउनुभयो ।
केन्द्रका लागि लायन रामनारायणको परिवारबाट करिब १२ लाख र बाँकी स्रोत लायन्स मेम्बर तथा क्लबहरूबाट जुटाइएको छ । स्वास्थ्यकर्मी समेत रहेका लायन शाक्यले केन्द्रबाट बजारमा गरिने परीक्षण भन्दा ५० प्रतिशत कम शुल्कमा रक्त परीक्षण गर्ने जानकारी दिनुभयो ।
उहाँले सेवा केन्द्रबाट लिभर, किड्नीको फङ्सन परीक्षण पनि हुने बताउनुभयो । केन्द्रमा २ जना कन्सल्टेन्ट चिकित्सकले सेवा समेत दिने उहाँको भनाई छ । नेपालमा मधुमेहका बिरामीको सङ्ख्या बढ्दो रहेको छ । मधुमेहका बिरामीको एकिन तथ्याङ्क भने छैन । कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्दा मधुमेह पुष्टि हुने गरेको चिकित्सकहरू बताउँछन् ।
मधुमेहका बिरामी बढ्दै गएपछि उनीहरूलाई लक्षित गरेर छुट्टै अस्पताल स्थापना गरिनु उपलब्धिपूर्ण रहेको मन्त्री केसीले बताउनुभयो । उहाँले लायन रामनारायणले अस्पताल निर्माणका लागि पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले अस्पताल सञ्चालनमा आउनु सुखद भएको भन्दै उपमहानगरबाट हुन सक्ने आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय परिवर्तित जीवनशैलीका कारण लाखौँ मानिसहरूमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।
मधुमेह नियन्त्रणमा ल्याउनका लागि जङ्क फुड, धूम्रपान र मद्यपानको सेवन गर्न नहुने चिकित्सकहरू बताउँछन् । यस्तै मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेह हुनबाट जोगिन आवश्यक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्