धनकुटामा ४ जनाले पाए आमाको नामबाट नागरिकता

धनकुटा । अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन् । धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ, र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाउनु भएको हो। यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाउनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरूलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामानारायण श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूलाई नागरिकता नपाएपछि उच्च अदालत विराटनगर धनकुटा इजलासमा दायर गरेको रिटमा अदालतले उनीहरूको आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाबाट नागरिकता नपाएपछि तामाङले प्रशासनलाई विपक्षी बनाएर उच्च अदालत विराटनगर धनकुटा इजलासमा २०७८ चैत १४ गते रिट र गौरीले २०७८ चैत १६ गते रिट दायर गर्नुभएको थियो ।
अदालतले दुवै रिटको २०७८ असार २१ गते जिल्ला प्रशासन कार्यालय धनकुटाका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो । कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ। तर पनि धनकुटा प्रशासनले उनीहरूलाई नागरिकता दिन इन्कार गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्