यातायात कार्यालय जगातीबाट राधेराधे सार्न लागिएको भन्दै बिरोध

भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण कार्य गर्दै आएको ‘यातायात व्यवस्था कार्यालय’ थिमिस्थित राधेराधे माइक्रोबस पार्कमा सार्ने भए पछि बिरोध भएको छ ।
यातायात व्यवस्था कार्यालय जगातीको प्राङ्गणमा स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउने बित्तिकै कार्यालय सार्ने भएको बताएका छन् ।
सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्ष पछि राधेराधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्ने भएपछि यहाँका बासिन्दा एवं लेखापढी व्यवसायीले बिरोध गरेका हुन् ।
यातायात कार्यालयको प्राङ्गणमा स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायीले आर्थिक रकमको चलखेलमा यातायात कार्यालय अनुपयुक्त घरमा सर्न लागेको भन्दै बिरोध गरेका हुन् । पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्ड भित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आए लगत्तै रकमको चलखेल गर्दै कार्यालय सार्न लागेको बताउनु भयो ।
बिना सूचना र कोटेशन समेत आव्हान नगरी थिमिस्थित माइक्रोबस पार्कमा कार्यालय सार्नुले आर्थिक लेनदेनको चलखेल भएको उहाँले बताउनु भयो ।
कार्यालयले कुनै पनि नयाँ घरमा जानु अगाडि निश्चित समय तोकेर सार्वजनिक सूचना जारी गर्नु पर्नेमा कुनै सूचना नै जारी नगरी एकलौटी रुपमा भाडा मूल्याङ्कन समितिलाई समेत प्रभावमा पारेर अनुपयुक्त घरमा कार्यालय सार्न लगाएको पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका संयोजक कार्कीले आरोप लगाउनु भयो ।
कार्यालय सार्न खोजेको घर भूकम्प अगाडि बनेको, साँघुरो घर, मापदण्ड भन्दा साना कोठा एवं भर्याङ रहेको, पर्याप्त पार्किङ तथा खुल्ला ठाउँ नभएको र सेवाग्राहीका लागि उपयुक्त नहुने साँघुरो ठाउँमा कार्यालय लान लागेको भन्दै उहाँले स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायीसँग समेत कार्यालय प्रमुखले मासिक रकम माग गरेको आरोप लगाउनु भयो ।
व्यवसायी गोकूल वनले मध्यपुरथिमिको राधेराधे (बाग्मती आयल स्टोर) पछाडि नै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एक तले भवन र जग्गा हुँदा हुँदै त्यो जग्गामा समेत कार्यालय नसारी विधि र प्रक्रिया समेत पुरा नगरी कार्यालय सार्न लागिएको बताउनुभयो ।
आर्थिक चलखेलकै कारण घर भाडा मूल्याङ्कन समितिलाई समेत गलत निर्णय गर्न लगाएको लेखापढी व्यवसायीको आरोप छ ।
त्यतिमात्रै नभई सेवाग्राहीका लागि रु. ४० मा सञ्चालन भइरहेको स्वास्थ्य परीक्षण कार्यको सम्झौतासमेत एकतर्फी रुपमा रुद्ध गरेर कार्यालय प्रमुख भट्टराईले प्रति व्यक्ति रु. ६० लिने गरी अर्को पक्षलाई दिएको व्यवसायीले बताएका छन् ।
पत्रकार सम्मेलनमा व्यवसायी शिवनारायण ग्वाछाले सरकारको लाखौँको लगानी, यहाँ १०० भन्दा बढी व्यवसायीले सञ्चालन गरेको करोडौँको लगानीको व्यवसाय समेत नोक्सानमा परेको भन्दै उहाँले सेवाग्राहीलाई मर्कामा पर्ने गरी पर्याप्त पार्किङ समेत नभएको अस्तव्यस्त ठाउँमा कार्यालय नै सार्न लागिएको बताउनु भयो ।
सूर्यविनायक नगरपालिका–८ गुण्डुमा यातायात कार्यालयको आफ्नै भवन बनाउने प्रक्रिया सरकारले अगाडि बढाइसकेको र यहीँ वर्षबाट भवन निर्माण कार्य अगाडि बढाउने अवस्थामा केही वर्षका लागि कार्यालय सार्न खोज्नु रहस्य भएको पत्रकार सम्मेलनमा बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्