तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै शल्यक्रिया सहित सुरक्षित प्रसूति सेवा

सिन्धुपाल्चोक ।गर्भवती महिलाहरूलाई असामान्य अवस्थामा शल्यक्रिया सहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँ सम्म पु¥याउनुपर्ने बाध्यता थियो । आमा र बच्चा दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो । आफ्नै गाउँठाउँमा जटिल शल्यक्रिया सहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौँ सम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीयहरू खुशि भएका छन् ।

इन्द्रावती गाउँपालिकाका देव मगर, मेलम्चीमै आफ्नो श्रीमतीले शल्यक्रिया सहितको सुरक्षित निःशुल्क प्रसूति सेवा पाउँदा खुशि व्यक्त गर्नुहुन्छ । विगतमा गर्भवती महिलाहरूको असामान्य अवस्थामा आमा र बच्चा दुवैको जोखिम हुँदा सुरक्षित प्रसुतिकैे लागि धुलिखेल, काठमाडौँ सम्म लैजानुपर्ने बाध्यता थियो । शहरका महँगा अस्पतालको उपचार खर्च धान्न यहाँका दुर्गम ठाउँका स्थानीयहरूलाई मुस्किल हुन्थ्यो । आफ्नै ठाउँमा अहिले विशेषज्ञ चिकित्सककै संलग्नतामा जटिल प्रसूति सेवा पाएपछि यहाँका गर्भवती महिलाहरूलाई राहत मिलेको इन्द्रावती गाउँपालिकाका अन्जली मगर बताउनुहुन्छ ।

यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसंगैे सेवा बिस्तार गरिएको हो । शल्यक्रिया सहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर ,फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जान पर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल बताउनुहुन्छ ।

विभिन्न सेवाको विस्तार सँगै जटिल शल्यक्रिया सहितको निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिनेको चाप बढेको छ । जसकारण गुणस्तरीय सेवाको लागि जनशक्तिको अभाव, भौतिक पूर्वाधार, आर्थिक प्रशासन लगायत अन्य क्षेत्रको अभाव खड्कीएको मेलम्ची नगर अस्पतालका प्रमुख डा.दामोदर पौडेलको भनाई छ ।

पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको मेलम्ची नगरपालिकामा अस्पताल सञ्चालन तथा शल्यक्रियाका आवश्यक सामाग्री र विशेषज्ञसहित स्वास्थ्यकर्मीको सेवा उपलब्ध भएपछि मेलम्चीका मात्र नभएर अन्य पालिकाका दुर्गम ठाउँका नागरिकलाई पनि स्वास्थ्य सेवा लिन सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button