मधेश प्रदेशका सामुदायिक विद्यालयहरूको गुणस्तरमा निक्कै ह्रास, सुधारमा जोड

जनकपुरधाम । मधेश प्रदेशको शैक्षिक गुणस्तर निक्कै खस्केको सरोकारवाहरुले चिन्ता व्यक्त गर्दै गुणस्तरमा सुधार ल्याउनका लागि तत्काल कामकाज अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्र सानोठिमीले राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण र कार्य सम्परीक्षणका नतिजा कार्यान्वयन सम्बन्धित आयोजना गरिइएको मधेश प्रदेश स्तरीय प्रवोधिकरण सम्बन्धी जनकपुरधाममा आज आयोजना गरिइएको कार्यक्रममा सरोकारवालाहरूले सो कुरा बताउनु भएको हो ।
उहाँहरूले सामुदायिक विद्यालयका शिक्षकहरूको तलब भत्ता सहितको सुविधा राम्रो रहेको र प्रशिक्षणहरू दिनुका साथै विद्यालयको भौतिक अवस्था पनि राम्रो भएपनि विद्यार्थीहरूको सिकाई उपलब्धि निक्कै कमजोर रहेको बताउँदै यसमा सुधारका लागि प्रदेश तथा स्थानीय सरकारले विशेष रुपमा ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँहरूले मधेश प्रदेशका जिल्ला सहित देशका ६२ वटा जिल्लामा केन्द्रले गरेको विद्यार्थी उपलब्धि सम्बन्धी परीक्षणमा कर्णाली भन्दा अगाडि अगाडि मधेश प्रदेश भएपनि अन्य ५ वटा प्रदेश भन्दा पछाडि भएको बताउँदै कक्षा १० को गणित विषयमा ४५ प्रतिशत विद्यार्थीको सिकाई निराशा जनक भएको जानकारी दिइएको छ ।
यसै गरी विज्ञानमा ५१ प्रतिशत, नेपालीमा ६३ प्रतिशत तथा अग्रेजीमा ६५ प्रतिशत विद्यार्थीहरूको सिकाइ अवस्था निक्कै कमजोर भएको शैक्षिक गुणस्तर तथा परीक्षण केन्द्रका महानिर्देशक शिव कुमार सापकोटाले जानकारी दिनु भयो । केन्द्रले कक्षा ३, ५, ८ तथा १० को चार विषयको सिकाई उपलब्धिहरूको विश्वको मापदण्ड अनुसार परीक्षण गर्दै आएको छ ।
देश भरिका ५ हजार १ सय ४३ विद्यालयको सिकाइको परीक्षण गर्दा प्रायः जिल्लाहरूको सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धिहरू सन्तोषजनक मात्र होइन निराशाजनक पाइएको कार्यक्रममा जानकारी दिइएको छ । यसले नेपालको शैक्षिक गुणस्तरमा नै ठूलो प्रश्न चिन्ह खडा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले मधेश प्रदेशको शैक्षिक गुणस्तर निक्कै खस्केकोमा चिन्ता व्यक्त गर्दै यसमा सुधार गर्नका लागि सबै तहका सरकारको एकीकृत प्रयास गर्नु पर्ने धारणा राख्नु भयो ।
उहाँले मधेश प्रदेश शिक्षा, ज्ञान तथा अध्यात्मको केन्द्र विन्दु रहेपनि अहिले आएर पछाडि पर्नु निक्कै चिन्ताको विषय भएको बताउँदै शिक्षकहरूले शिक्षाको गुणस्तरमा सुधारका लागि विशेष ध्यान दिन आवश्यक भएको बताउनु भयो ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठले सामाजिक विकास मन्त्रालयले मधेश प्रदेशको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि प्रयास गरिरहेको बताउनु भयो ।
कार्यक्रममा धनुषाको नगराईन नगरपालिकाका नगरप्रमुख विनय कुमार यादव, विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरुले खस्केको शैक्षिक गुणस्तरमा सुधारका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्