दृष्टिविहीन विद्यार्थीको आँखाको शल्यक्रियाको लागि गाउँपालिकाको साढे ३ लाख सहयोग
अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले दृष्टिविहीन जेहेन्दार विद्यार्थीको उपचारको लागि साढे ३ लाख रकम सहयोग गर्ने भएको छ ।
तुर्माखाँद–४ निवासी २२ वर्षीय बमबहादुर बिकलाई आँखाको शल्यक्रियाको लागि आवश्यक पर्ने ३ लाख ५० हजार रुपैयाँ गाउँपालिकाले दिने निर्णय गरेको पालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।
विकका आफन्तले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेपछि पालिकाले बम आँखाको शल्यक्रिया गर्न लाग्ने सबै रकम सहयोग गर्ने भएको हो ।
दुई वर्षको उमेरदेखि आँखाको दृष्टि गुमाएका विकको काठमाडौँमा रहेको तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया हुने भएको छ । अस्पतालका विशेषज्ञ डा. सन्दुक रुईतको परामर्शमा अनुसार आँखाको शल्यक्रिया भएपछि दृष्टि गुमाएका विकको दृष्टि फर्किने छ ।“विकको जस्तै अवस्था भएका केहीको शल्यक्रिया मार्फत दृष्टि फर्किएको छ यो निकै ठुलो शल्यक्रिया हो”, डाक्टर रुईतको भनाई छ ।
तुर्माखाद गाउँपालिकाको असार २५ गते बसेको कार्यपालिकाको बैठकले बिकलाई उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष डम्बर बिसीले जानकारी दिनुभएको छ ।
अन्नपूर्ण बहु–प्राविधिक शिक्षालय पोखरामा १२ कक्षामा अध्ययनरत विक पडाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् ।
साउन ४ गते हुने शल्यक्रियाको लागि रकम सङ्कलन गरिरहेका बम बहादुरलाई पालिकाले शल्यक्रियाका लागि लाग्ने सबै रकम बेहोर्ने भएपछि बम बहादुर लगायत उहाँका घरपरिवारका सदस्यहरु खुसी भएका छन् ।
असार २५ गते बसेको तुर्माखाद गाउँ कार्यपालिको बैठकले पालिकाका आर्थिक अवस्था कमजोर भएका तर जेहेन्दार विद्यार्थीलाई पनि आर्थिक सहयोग गरेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका तर केही गर्न चाहने ४ जना विद्यार्थिहरुलाई ५ लाख आर्थिक सहयोग गरेको पालिका अध्यक्ष बिसीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्