सूचना जटिल र असहज बन्दै गएको सरोकारवालाहरूको गुनासो
रुपन्देही । सरकारी तथा सार्वजनिक कार्यालयले सूचनालाई सरल र सहज बनाउनुको साटो जटिल र असहज बनाउँदै लगेको सरोकारवालाले गुनासो गरेका छन् । यसले गर्दा सर्वसाधारण नागरिक सूचना पाउने हकबाटै वञ्चित भएको उनीहरूले दुखेसो पोखे ।
राष्ट्रिय सूचना आयोगले शुक्रवार रुपन्देहीमा आयोजना गरेको ‘खुला सरकार, नागरिक सशक्तीकरण एवं साझेदारी अवधारणा र अभ्यास’ विषयक अन्तरक्रियामा सहभागीहरूले सरकारी निकायले सूचना सरल नबनाउँदा पारदर्शिता, सुशासन र जवाफदेयितामाथि नै प्रश्न उठेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार तारानाथ दाहालले खुला सरकार, नागरिक सशक्तीकरण र साझेदारी अवधारणा र अभ्यासबारे सहजीकरण गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीमगरले खुला सरकार प्रणालीमा जान साझेदार संस्थाहरूको क्षमता विकासदेखि सशक्तीकरणसम्ममा राज्यले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले सुशासन र पारदर्शितालाई थप महत्त्व दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले पारदर्शिता र जबाफदेहिताका लागि सूचनाको पहुँच जनस्तरसम्म पुर्याउन सरकारी संयन्त्र संवेदनशील हुनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सदस्य विष्णुप्रसाद पन्थीले सरकार सधैँ सूचना लुकाउने विषयमा लागे नागरिकमा शङ्का पैदा हुने बताउनुभयो ।
नागरिक समाजका रुपन्देही अध्यक्ष ईश्वरी चापागाईँले जनप्रतिनिधिहरू आएपछि नागरिक समाजलाई कार्यक्रममा सहभागी बनाउने र सूचना दिने क्रम अझ घटेको बताउनुभयो । उहाँले त्यसै सूचना माग्दा नदिने र निवेदन एवं प्रक्रिया पुर्याएर माग्न जाँदा पनि सरकारी कार्यालयहरूले जिम्मेवारी बहन नगरेको गुनासो गर्नुभयो ।
एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले सरकारले गरेका काम र बनाएका ऐन नियमबारे नागरिक तहसम्म जानकारी नहुँदा खुला सरकारको अवधारणाबारे बहस नै गर्न नपाएको बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरू डा. बालकृष्ण चापागाईँ, भरत केसी, अमृता अनमोल लगायतले सूचना अधिकारीलाई सूचनामा अपडेट बनाउन र सूचना दिने जिम्मेवारी बोध गराउन सूचना आयोगले अभियानात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्